Skip to content

एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो जित, यूएईलाई ६ विकेटले हरायो

Nepal Bank

काठमाडौँ – सन्दीप लामिछाने र कुशल भुर्तेलको उत्कृष्ट बलिङ तथा भुर्तेलकै अर्धशतकीय ब्याटिङको मद्दतमा नेपालले एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। नेपालले आइतबार यूएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिनुभयो। उहाँले ५६ बलमा छ चौका र एक छक्का प्रहार गर्नुभयो। त्यस्तै, मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाउनुभयो।

बलिङतर्फ यूएईका मुहम्मद मोहसिनले दुई विकेट लिनुभयो भने उदीस सुरी र अंश टन्डनले एक–एक विकेट हात पार्नुभयो।

यसअघि टसपछि ब्याटिङ गरेको यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन विकेट लिनुभयो। त्यस्तै, रासिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले एक–एक विकेट लिनुभयो।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित भएको थियो। यता, यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ६१ रनले पराजित भएको थियो। दुवै टोली पहिलो जितको खोजीमा रहेका बेला नेपालले प्रभावशाली प्रदर्शन गर्दै यूएईलाई हराउन सफल भयो।

प्रतियोगितामा आठ टोली सहभागी छन्। नेपाल समूह ‘बी’मा रहेको छ। नेपालले समूह चरणको आफ्नो आगामी खेलमा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्