Skip to content

प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्लीमा

Nepal Bank

नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो। विमानस्थलमा उहाँलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभयो। स्वागतका क्रममा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

प्रधानमन्त्री शाहसँगको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ। त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित हुन लागेको भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारका विषय प्रमुख प्राथमिकतामा रहनेछन्। यस क्रममा ऊर्जा सहकार्य र दुई देशबीचको सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। यी क्षेत्रमा आपसी सहयोगलाई संस्थागत बनाउन विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ। भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार उहाँले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ।

भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्