Skip to content

एमबीएस र एमपीए भर्नाका लागि त्रिविले खुलायो आवेदन

Nepal Bank

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयरले सेमेस्टर प्रणालीमा आधारित ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) तथा ‘मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन’ (एमपीए) कार्यक्रमको प्रवेश परीक्षा-२०८३ सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ। भर्ना वर्ष २०८३ का लागि एमबीएस र एमपीए कार्यक्रम सञ्चालन भएका सम्पूर्ण क्याम्पस तथा कलेजहरूमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिएको हो।

सूचना अनुसार इच्छुक विद्यार्थीहरूले २०८३ मङ्सिर ७ गतेदेखि पुस २१ गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन्। प्रवेश परीक्षा आगामी २०८३ पुस २५ गते शनिबार बिहान ८:०० बजे सञ्चालन हुने तय भएको छ। यस्तै, नयाँ शैक्षिक सत्रको नियमित कक्षा सञ्चालन २०८३ माघ १८ गते सोमबारदेखि सुरु हुनेछ। परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी भने संकायको वेबसाइटमार्फत पछि प्रकाशित गरिने बताइएको छ। प्रवेश परीक्षामा ‘भर्बल एबिलिटी’, ‘क्वान्टिटेटिभ एबिलिटी’ तथा ‘बिजनेस एन्ड इकोनोमिक्स’ वा ‘जनरल अवेयरनेस’ विधाबाट २५/२५ वटा बहुवैकल्पिक वस्तुगत प्रश्नहरू सोधिनेछ। स्नातक तहको परीक्षामा सामेल भई नतिजा पर्खेर बसेका परीक्षार्थीहरूले समेत यस प्रवेश परीक्षामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। यद्यपि, प्रवेश परीक्षा उत्तीर्ण भएर क्याम्पसमा भर्ना हुने समयमा भने स्नातक तह उत्तीर्ण गरेको लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

विद्यार्थीहरूले संकायको आधिकारिक वेबसाइट ‘www.tudoms.org’ मार्फत अनलाइन फाराम भर्नुपर्नेछ भने सोसम्बन्धी ‘लिङ्क’ ‘www.fomecd.edu.np’ बाट समेत प्राप्त गर्न सकिनेछ। फाराम भर्दा अनलाइन भुक्तानी प्रणाली ‘कनेक्ट आईपीएस’ मार्फत नेपाल बैंक लिमिटेडमा रहेको व्यवस्थापन संकाय डिनको कार्यालयको खाता नम्बर ०४५००१०००९९०६६०००००१ मा रु. १,५००/- दस्तुर बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्