काठमाडौँ – निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई अद्यावधिक गरेको छ । कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गरेर पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदनसहित आवश्यक कागजात उपलब्ध गराएको थियो । सोअनुसार आयोगको मंगलबारको बैठकले थापा नेतृत्वको नेपाली कांग्रेस अद्यावधिक गरेको हो ।
१५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगमा उपलब्ध गराउँदै अद्यावधिकका लागि निवेदन दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी हेरफेर गरे त्यसको जानकारी दिनुपर्ने व्यवस्था छ । त्यसअनुसार आयोगले दल दर्ता किताबमा पदाधिकारी हेरफेरसँग सम्बन्धित विषय अद्यावधिक गर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्