काठमाडौं – मुलुकको सार्वजनिक ऋण ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमास (साउन–असोज) मा सार्वजनिक ऋण आकार अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै ३० खर्बको आँकडा छोएको हो ।
गत आव २०८२/८३ अन्तिमसम्म अर्थात् असार २०८३ सम्म सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब बराबर थियो । चालु आव पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब रुपैयाँ ऋण लिएको छ । यस अवधिमा ७७ अर्ब ७४ करोड बराबर ऋण तिरेको छ । यस अवधिमा विनिमय दरका कारण १८ अर्ब १६ करोड बराबर नाफा हुँदा समग्रमा तिर्न बाँकी ऋण ३० खर्ब ९ अर्ब ११ करोड पुगेको हो । यसमध्ये आन्तरिक ऋण १४ खर्ब १० अर्ब र वाह्य ऋण १५ खर्ब ९८ अर्ब बराबर पुगेको कार्यालयले जनाएको छ ।
नेपालको सार्वजनिक ऋणमा आन्तरिक ऋण हिस्सा ४६.८७ प्रतिशत र वाह्य ऋण हिस्सा ५३.१३ प्रतिशत कायम भएको छ । ३० खर्ब सार्वजनिक ऋणलाई जनसंख्यामा भाग लगाउँदा प्रत्येक नेपाली बराबर १ लाख रुपैयाँभन्दा माथि ऋणभार पुगेको छ । कार्यालयका अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको आधार ४५.५९ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋण २१.३७ प्रतिशत र वाह्य ऋण २४.२२ प्रतिशत बराबर पुगेको तथ्यांक कार्यालयको छ ।


प्रतिक्रिया दिनुहोस्