Skip to content

पत्रकार पक्राउप्रति कांग्रेस महामन्त्री पौडेलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले पत्रकार पक्राउ गर्ने कार्यलाई सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठाको संज्ञा दिँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । पौडेलले सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता तथा शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको बताएका छन् ।

कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपणका लागि स्थापित कानुनी बाटाहरू हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत भएको उनको भनाइ छ । प्रश्न सोधेकै आधारमा पत्रकारलाई हतकडी लगाउने कार्यले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउने पौडेलले टिप्पणी गरेका छन् । उनले सरकारलाई आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सचेत गराउँदै पक्राउ गरिएका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्न माग गरेका छन् । त्यस्तै, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गरी कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न उनले आग्रह गरेका छन् । यसअघि पनि गाडी तेर्स्याएर सञ्चारकर्मीलाई आतंकित बनाउने प्रयास भएको स्मरण गराउँदै पौडेलले त्यही प्रवृत्ति अहिले राज्यसंयन्त्रबाटै दोहोरिनु अस्वीकार्य भएको बताएका छन् । आफ्ना कमजोरी लुकाउन सञ्चारमाध्यमलाई तर्साउने प्रयास तत्काल रोक्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्