काठमाडौं – विद्यालय जीवनका अविस्मरणीय क्षण र पुराना सहपाठीसँगको आत्मीयता साटासाट गर्दै श्री माम्खा माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरू काठमाडौंमा एकै ठाउँमा जुटेका छन्।
विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्नुका साथै विद्यालयसँगको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले काठमाडौंको काँडाघारीमा पुनर्मिलन तथा भेटघाट कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापकद्वय एकराज कटवाल र उत्तरकुमार कटवाल, अर्थविद् डा. रेवतबहादुर कार्कीसहित विभिन्न पेसा, व्यवसाय तथा सामाजिक क्षेत्रमा क्रियाशील पूर्वविद्यार्थी, प्रशासक, शिक्षासेवी र अग्रजहरूको सहभागिता रहेको थियो।
भेटघाटका क्रममा सहभागीहरूले विद्यालय जीवनका पुराना अनुभव, बाल्यकालका सम्झना, शैक्षिक यात्राका आरोह–अवरोह र सहपाठीबीचको आत्मीयता स्मरण गरेका थिए। लामो समयपछि आफ्ना पुराना साथी तथा गुरुहरूसँग भेट हुन पाउँदा सहभागीहरू उत्साहित देखिएका थिए।
एउटै शैक्षिक संस्थाबाट शिक्षा हासिल गरेका विभिन्न पुस्ताका विद्यार्थीलाई एउटै थलोमा जोड्ने अवसरका रूपमा रहेको यस भेटघाटले पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै विद्यालयप्रतिको अपनत्व र सामूहिक एकताको भावनालाई समेत उजागर गरेको छ।


प्रतिक्रिया दिनुहोस्