काठमाडौं – मनास्लु क्षेत्रमा एक विदेशी पर्यटकमाथि पहिरो खसेको छ । गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोमा चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा परेकी हुन् ।
उनका गाइड रमेश भट्टले दिएको जानकारी अनुसार न्याक फेदीभन्दा केहीमाथि भिरमा शुक्रबार दिउँसो २ बजेतिर रस्कोभामाथि पहिरो खसेको हो । उनका श्रीमान् र गाइड भट्ट भने सकुशल नै रहेको उनले बताए ।
उनीहरू काठमाडौंको नेपाल निर्भाना ट्रेल्समार्फत् ३० असोजमा मनास्लु पदमार्ग हुँदै लार्के गएका थिए । तर प्रतिकूल मौसमका कारण उनीहरू लार्के पास नपुगे १२ कात्तिकमा सामागाउँबाट फिर्ता भएका थिए । सामागाउँबाट फर्किरहेको समयमा बाटोमाथिबाट एक्कासि ढुंगा-माटोसहितको लेदो क्याटरिनामाथि खसेको डीएसपी श्रेष्ठले बताए । घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरी चौकी सिर्दिवासबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको भए पनि ठाउँ ठाउँमा पहिरो खसेका कारण उद्धारमा कठिनाइ भइरहेको डीएसपी श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्