काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरी राहदानी रोक्का गरेको विषयमा कुनै औपचारिक जानकारी नदिएको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्दै उनले सरकारका तर्फबाट न त लिखित सूचना आएको छ न त मौखिक जानकारी—तर समाचारमार्फत मात्र सो कुरा थाहा पाएको बताएका हुन्। ‘मलाई आजसम्म कुनै पनि सरकारी निकायले स्थानहद गरेको वा पासपोर्ट रोक्का गरेको विषयमा न लेखेर, न बोल्दै जानकारी दिएको छैन,’ लेखकले बैठकमा भने, ‘कुन कानुन र कुन औचित्यका आधारमा यस्तो निर्णय गरियो भन्ने पनि मलाई थाहा छैन।’
उनका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका व्यक्तिहरूमाथि स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको खबर उनले मिडियाबाट मात्र सुनेका थिए।
‘सरकारले यस्तो निर्णय गरेको रहेछ भन्ने कुरा मैले समाचारबाट मात्र सुनेको हुँ,’ लेखकले स्पष्ट पारे। त्यस्तै, उनले जेन–जेड आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी आफूले लिन नसक्ने बताएका छन्। घटनाबारे बैठकमा विवरण प्रस्तुत गर्दै लेखकले आफूले सुरक्षाकर्मीहरूलाई बारम्बार संयम रहन निर्देशन दिएको दाबी गरे। ‘२२ गते साँझमै मैले गृहसचिव र दुवै प्रहरी प्रमुखहरूलाई क्याजुलिटी नहोस् भनेर निर्देशना दिएको थिएँ,’ उनले भने, ‘प्रधानमन्त्री वा मन्त्रीले आदेश दिने विषय होइन, मैले स्पष्ट रूपमा भनेको छु—कुनै हालतमा पनि मृत्यु वा गम्भीर घटना नहोस्।’ उनका अनुसार नेपाल प्रहरीका तत्कालीन महानिरीक्षकले समेत सञ्चारमाध्यममा सो निर्देशनको पुष्टि गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्