२७ वर्षकै उमेरमा एकल महिला बनेकी जैसीले जीवनका चुनौतीलाई सामना गर्दै समुदायको स्वास्थ्य सेवामा आफूलाई समर्पित गरिन् । घरदैलोमा पुगेर स्वास्थ्यसम्बन्धी जानकारी दिने, गर्भवती तथा सुत्केरी महिलालाई परामर्श प्रदान गर्ने, बालबालिकाको स्वास्थ्य र पोषणबारे सचेतना फैलाउने तथा खोप र सरसफाइ अभियानमा सहजीकरण गर्ने काममा उहाँ सक्रिय रहिन् । स्वयंसेविकाका रूपमा जैसीले स्वास्थ्य संस्था र स्थानीय समुदायबीच सेतुको भूमिका निर्वाह गर्दै धेरै परिवारलाई समयमै स्वास्थ्य सेवा लिन प्रेरित गरिन् । सीमित स्रोतसाधन र सुविधाका बीच पनि निरन्तर सेवामा खटिएकी उहाँको योगदानले समुदायमा स्वास्थ्यसम्बन्धी चेतना विस्तार गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको अस्पतालले जनाएको छ ।
गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले जैसीको २८ वर्षे सेवायात्रा समुदायको स्वास्थ्य सुधारप्रतिको निष्ठा र समर्पणको उदाहरण भएको बताए । उनले जैसीले पुर्याएको योगदान गलकोटको स्वास्थ्य क्षेत्र र सामाजिक जीवनमा सधैँ स्मरणीय रहने उल्लेख गर्दै आगामी जीवन सुखद, स्वस्थ र दीर्घायु रहोस् भन्ने शुभकामना व्यक्त गरे । बिदाइका क्रममा जैसीको लामो सेवायात्राको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि आफ्नो अनुभव र ज्ञानमार्फत समाजलाई प्रेरित गरिरहने विश्वास व्यक्त गरिएको थियो । २८ वर्षसम्म समुदायको स्वास्थ्य र सेवामा समर्पित जैसी औपचारिक जिम्मेवारीबाट बिदा भए पनि उहाँले छाडेको सेवाको छाप र समर्पणको प्रेरणा भने समुदायमा रहिरहनेछ । कठिन परिस्थितिमा पनि इच्छाशक्ति र जिम्मेवारीबोधका साथ अघि बढे समाजमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने सन्देश उहाँको जीवनयात्राले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्