काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका गम्भीर आरोपबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग जवाफ मागेका छन्। उनले कांग्रेस सभापति गगन थापासहितका नेताविरुद्ध बयान दिन दबाब दिइएको भन्ने आरोपको वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन् । शर्माले शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा परेको उजुरी झुटो हो वा राज्यकै आडमा अपराधका योजना बनिरहेका छन् भन्ने प्रश्न उठाएका छन् । इनम सापकोटाकी पत्नी कविता पाण्डेले आयोगमा दिएको उजुरीमा गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिए रिहा गरिदिने, नत्र फसाइदिने भन्दै धम्की दिइएको उल्लेख छ। यही विषयलाई लिएर शर्माले प्रधानमन्त्रीसँग घटनाको वास्तविकता स्पष्ट पार्न माग गरेका हुन् । ‘कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने ! इनम सापकोटाकी श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीज्यू ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दैछन् ?’ शर्माले लेखेका छन् ।
उनले इनम प्रकरणलाई रहस्यमय घटनाका रूपमा मात्रै सीमित राख्न नहुने भन्दै यससँग जोडिएका सम्पूर्ण तथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै नागरिकले घटनाको सत्यतथ्य जान्न पाउनुपर्ने उनको भनाइ छ । शर्माले घटनामा षड्यन्त्रका तहहरू क्रमशः खुल्दै गएको दाबी गर्दै निष्पक्ष र पारदर्शी छानबिनका लागि संसद्ले नै अग्रसरता लिनुपर्ने बताएका छन् । ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ। वास्तविकता जे हो त्यसउपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिन जरुरी छ,’ उनले लेखेका छन् । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको र कांग्रेस सभापति गगन थापासहित राजनीतिक नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन् ।
उनकी पत्नी कविता पाण्डेले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा बुझाएको पाँच पृष्ठ लामो उजुरीमा सापकोटामाथि प्रहरीले शारीरिक तथा मानसिक यातना दिएको, आफूले नबोलेका कुरा पढ्न लगाएर श्रव्यदृश्य रेकर्ड गरिएको र त्यसलाई काटछाँट गरी सार्वजनिक गरिएको दाबी गरेकी छन् । सापकोटालाई बयान दिए रिहा गरिदिने तथा नमाने लामो समय थुनामा राख्ने र परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको उजुरीमा उल्लेख छ । यसअघि कांग्रेसको आधिकारिकता विवादसँग जोडेर गगन थापासहितका नेताबारे इनमले बोलेको भनिएको श्रव्य सामग्री सार्वजनिक भएको थियो। उक्त सामग्रीमा कांग्रेसको आधिकारिकता दिलाउन १८ करोड रुपैयाँ लेनदेन भएको दाबी गरिएको थियो । सापकोटाकी पत्नीले उजुरी दिएपछि राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ। आयोगका अधिकारीहरूले सम्बन्धित सरकारी निकायसँग सोधपुछ गरी हिरासतमा रहेका सापकोटाको मानवअधिकार अवस्थाबारे अनुसन्धान गरिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्