काठमाडौँ – किसानले यस वर्ष स्याउ बिक्रीबाट आठ करोड २६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका छन् । कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लाका सातवटै गाउँपालिकामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कुल ६९० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो । उत्पादित स्याउमध्ये एक हजार ३७७ दशमलव ६ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए । गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको छ। त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव ६, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ निकासी भएको छ ।
काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो । तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना आएको कार्यालय प्रमुख पन्तले बताए। उनका अनुसार व्यक्तिगत रूपमा खरिद गरेर पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण समावेश नभएकाले वास्तविक कारोबार अझै बढी हुन सक्छ । सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो। गत वर्ष करिब चार करोड रुपैयाँको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ । स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको अदानचुली–३ का स्याउ खरिद-बिक्री व्यवसायी अर्जुन फडेराले बताए।
यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकिलो ६० रुपैयाँ, बी ग्रेडको ५० र सी ग्रेडको ४० रुपैयाँमा बिक्री भएको थियो । कृषि विकास कार्यालयका अनुसार हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको छ । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै यस वर्ष ११ ट्रक स्याउ निकासी भएको छ । अबको पाँच वर्षमा वार्षिक कम्तीमा ५५ ट्रक स्याउ निकासी गर्ने लक्ष्यसहित स्याउ जोन बनाइएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।



प्रतिक्रिया दिनुहोस्