काठमाडौँ – प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा, नेकपा (बामपन्थी केन्द्र)का नेता घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ। बुधबार राजधानीमा सम्पन्न उक्त भेटवार्तामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
नेता भुसालका अनुसार आगामी निर्वाचनमा आफूहरू सँगसँगै सहभागिता जनाउनेबारे सकारात्मक छलफल भएको छ। “भेटघाटलाई निरन्तरता दिँदै जाने सहमति भएको छ,” भुसालले बताए । माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी)सहित १० दलसँग पार्टी एकता गरेपछि जनार्दन शर्माले ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका हुन्। यता, उक्त एकताप्रति असन्तुष्टि जनाउँदै घनश्याम भुसाल पक्षीय नेताहरूले हालै ‘नेकपा (बामपन्थी केन्द्र)’ नामक नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्