काठमाडौँ – सुदूरपश्चिम रोयल्सले देस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै मात्र १७५ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै पोखराका लागि पहिलो खेलमा चल्न नसकेका जिम्मी निशमले आजको खेलमा २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए ।
पोखराका डान डाउथवडले ३७ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका लागि हर्मित सिंहले दुई विकेट लिए । त्यस्तै स्कट कुग्गलेइन, दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि जोस ब्राउनले ६८ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । त्यत्सै विनोद भण्डारीले ४३ बल खेल्दै ४ चौकाको सहयोगमा ४३ रन बनाए । क्रिस लिनले ३१ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे । बलिङतर्फ पोखराका लागि जिम्मी निशमले दुई विकेट लिँदा आकाश चन्द र डान डाउथवेडले दुई–दुई विकेट लिए । आजको खेलमा जित निकाल्दै सुदूरपश्चिमले दुई खेलबाट ४ अंक जोडेको छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । यता पोखराको भने यो लगातार दोस्रो हार हो । पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्