काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडले आज (मंसिर ७ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन सुरू गरेको छ। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत बराबर २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा १ करोड कित्ता स्थानीय बासिन्दाका लागि सार्वजनिक गरेको छ। यसमा ४० लाख कित्ता अति प्रभावित वडाका बासिन्दा (सोलु दूधकुण्ड–७, ११ र थुलुङ दूधकोशी–१) लाई र ६० लाख कित्ता अन्य वडाका बासिन्दालाई छुट्याइएको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिइनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।
निष्काशन बन्द
- स्थानीय बासिन्दा: छिटोमा मंसिर २१, ढिलोमा पुस ७
- वैदेशिक रोजगार: छिटोमा मंसिर १०, ढिलोमा मंसिर २१
इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई IRN Double B रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ। कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाट तल्लो सोलु जलविद्युत आयोजनाको लागत १६ अर्ब ३० करोड रुपैयाँ छ। साधारण लगानी फिर्ता अवधि ७.६८ वर्ष र डिस्काउन्ट गरिएको फिर्ता अवधि १२.०९ वर्ष रहेको छ। निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो। स्थानीयले सोलुखुम्बुका तोकिएका बैंक शाखामार्फत २ रुपैयाँ फाराम शुल्क बुझाएर आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सबै C-ASBA सदस्य संस्थाबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्