काठमाडौं – आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् । सो विवरणमा दुई जना बाहेक अरु सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेको देखिन्छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । उनीहरु गैरहाजिर हुनुको कारण भने खुलेको छैन । कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पनि बुझाउन प्रहरी प्रधान कार्यालयले भनेको छ । अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्