Skip to content

खेल–पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्ने

काठमाडौँ — दार्चुलाको अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिमको खेल–पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै नेपाल प्रिमियर लिग (NPL) को चर्चित टिम सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्ने भएको छ। अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार रोयल्सको अफिसमै आमन्त्रण गरी अपिहिमाल गाउँपालिकालाई सम्मान तथा न्यानो मायाको चिनो प्रदान गरिएको थियो । सोही अवसरमा दुवै संस्थाबीच आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको हो।

समझदारीअनुसार दार्चुलामा निर्माणाधीन सम्तेली चौड हाई अल्टिच्युड क्रिकेट रंगशालामा छिट्टै प्राक्टिस म्याच आयोजना गरिनेछ । त्यस्तै, सुदूरपश्चिम रोयल्सका खेलाडीहरूलाई अपिहिमाल बेस क्याम्प ट्रेकमार्फत रिफ्रेसमेन्ट भ्रमण गराइनेछ । साथै, रोयल्सले यस वर्षको NPL ट्रफी जितेमा ‘अपिहिमाल विशेष भ्रमण कार्यक्रम’ सञ्चालन गर्ने सहमति दुवै पक्षबीच बनेको अध्यक्ष बोहराले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम रोयल्स र अपिहिमाल गाउँपालिकाबीचको यस सहकार्यले अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन, खेलमैत्री वातावरण निर्माण र सुदूरपश्चिम प्रदेशको समग्र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण मद्दत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्