काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आमनिर्वाचन नलड्ने बताएका छन् । गृहजिल्ला बाजुरा पुगेर उनले माघ ११ गते हुने राष्ट्रिय सभा वा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् । उनी २०७९ को चुनावमा बाजुराबाट निर्वाचित भएका थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि बनेका थिए। जेजनी आन्दोलन हुँदा उनी मन्त्री थिए । सहमहामन्त्री पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गरे ।आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।
यही पृष्ठभूमिमा उनले यस पटक निर्वाचन नलड्ने बताएका हुन् । ‘अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पुर्याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ,’ उनले भने । आगामी दिनमा आफ्नो अनुभव, दृष्टिकोण र राजनीतिक प्रतिबद्धतासहित पार्टीमार्फत् मुलुकका लागि अझ प्रभावकारी रूपमा योगदान गर्ने उनले बताए ।





प्रतिक्रिया दिनुहोस्