Skip to content

शिक्षाले बेरोजगार होइन, दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले विश्वविद्यालय तथा क्याम्पसहरू कानुनअनुसार जिम्मेवार र परिणाममुखी बन्न आवश्यक रहेको बताएका हुन्।

बागमती प्रदेश विश्वविद्यालय र पाँच आङ्गिक क्याम्पसबीच भएको औपचारिक सम्झौता समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै मुख्यमन्त्री बानियाँले ‘हृदयमा आत्मीयता राखेर काम गर्नुपर्ने’ भन्दै शिक्षा क्षेत्रमा समन्वय र स्पष्ट मार्गचित्र आवश्यक रहेको उल्लेख गरे। “मुटु माथि ढुंगा राखेर होइन, हृदयभित्र मुटु राख्ने आत्मीयता बढाउनुपर्छ,” उनले भने। मुख्यमन्त्री बानियाँका अनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थी तथा क्याम्पसहरू बागमती प्रदेश विश्वविद्यालयमा समायोजन हुँदै जाने प्रक्रियामा सबै पक्ष स्पष्ट र सहमत भएर अघि बढ्नुपर्छ। उनले बागमती प्रदेश विश्वविद्यालयले अब “छरपस्ट उत्पादन होइन, गुणस्तरीय र दक्ष जनशक्ति” उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए।

एआई युगसँगै स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा नयाँ प्रविधिको प्रयोगमार्फत प्रदेशले द्रुत विकासको लक्ष्य लिएको भन्दै उनले ‘गरिखाने शिक्षा आवश्यक छ, मागी खाने वा बेरोजगार उत्पादन गर्ने शिक्षा होइन’ भनेर जोड दिए। युवालाई सिप, तालिम र प्रविधिमैत्री शिक्षासँग जोडेर आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्ने उनले बताए । प्रदेश सरकार र विश्वविद्यालय ‘एउटै परिवार’का रूपमा अघि बढ्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले शिक्षा नीतिको कार्यान्वयनमा निरन्तर सुधार र निगरानी गरिने प्रतिवद्धता व्यक्त गरे। उनले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने शिक्षा व्यवस्था निर्माण गर्न सबैलाई सहकार्यका लागि आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्