काठमाडौं– नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो। ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले पहिलो चरणमै मत हाल्दै मतदानको सुरुवात गरेका हुन्।
ओलीले ७७ नम्बरको विद्युतीय मेसिनबाट मतदान गरेका छन् भने पोखरेलले ७६ नम्बरको मेसिन प्रयोग गरी मत हालेका छन्। मंगलबार साँझ हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भई आज बिहानका लागि सारिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिलाइपछि मात्र प्रक्रिया अघि बढेको हो। मतदानका लागि प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसेका थिए। विद्युतीय मेसिनमार्फत भइरहेको मतदानका लागि ८० वटा मेसिन राखिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका विद्युतीय मेसिन प्रयोग गरी २२६३ प्रतिनिधिले मतदानमा सहभागिता जनाउँदैछन्।
नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै प्यानलमा नपरेका उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन्। मतदान जारी रहँदा प्रत्याशीहरू प्रतिनिधिहरुसँग मत माग्न सक्रिय देखिएका छन् भने प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्