Skip to content

नेपाल दूरसञ्चार कम्पनीले वितरण गर्‍यो मालिकार्जुन माविमा स्कुल ब्याग

दार्चुला – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यसहित लेकम गाउँपालिका–०६, दार्चुलास्थित श्री मालिकार्जुन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीसहित स्कुल ब्याग प्रदान गरिएको थियो । यसबाट विद्यार्थीहरूको नियमित पठन–पाठनमा सहजता आउने र सिकाइप्रति थप उत्साह तथा प्रेरणा बढ्ने अपेक्षा गरिएको छ । दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गरेको सहयोग अत्यन्तै प्रशंसनीय रहेको विद्यालय परिवारले जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजय राज मिश्रले मन्तव्य राख्दै कम्पनीप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले विद्यार्थीहरू मात्र नभई सम्पूर्ण समुदायमा शिक्षाप्रति सकारात्मक सोच र भरोसा जगाउने बताउनुभयो । कार्यक्रमले शिक्षा, समान अवसर र सामाजिक विकासप्रति नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ छ। स्थानीय समुदाय, अभिभावक तथा विद्यालय परिवारले कम्पनीको यस सहयोगलाई मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर हुने विश्वास व्यक्त गरेका छन् । शिक्षाको उज्यालो भविष्यका लागि सहयोगी हातहरूप्रति प्रधानाध्यापक मिश्रले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्