Skip to content

सुदन गुरुङले भने – रवि र बालेनलाई नमिलेसम्म बाहिर आउने होइन भनेर ढोकामा चुकुल लगाइदिएको छु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच अहिले कुपन्डोलमा छलफल भइरहेको छ । बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई जनाबीच एक्लाएक्लै कुराकानी भइरहेको छ। भेटका लागि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद असिम शाह कुपन्डोल पुगेका थिए । त्यसअघि नै बालेनसँग भेट्न हामी नेपाल संस्थाका संस्थापक एवं जेनजी अभियन्ता सुदन गुरुङ पनि कुपण्डोल पुगेका थिए। सुदन अहिले ब्यजनकारको घरको गेटमा छन् । ‘ढोका थुनेर लक लगाएर राखेको छु ’ गुरुङले भने, ‘गेटपाले बसिराखेको छु। जबसम्म मिल्दैन तबसम्म निस्कन पाउँदैन भनेर।’ उनले रवि, बालेन, उर्जा मन्त्री कुलमान घिसिङबीच थप कुराकानी हुने बताए । रवि लामिछाने र बालेन शाहबीच केही दिन अघि काठमाडौंको कमलपोखरीमा ६ घण्टा लामो भेटवार्ता भएको थियो। तर भेटमा लामिछानेका तर्फबाट ठोस प्रस्ताव नआएको उल्लेख गर्दे बालेनले अन्य नेताहरुसँग छलफल अघि बढाएका थिए। बालेनले लौरो चुनाव चिन्ह भएको देश विकास पार्टीबाटै राजनीति अघि बढाउने गृहकार्य समेत गरिरहेका छन्। तर त्यसअघि रवि लामिछानेसँगको छलफल टुङ्गोमा पुर्‍याउने चाहाना बालेनको थियो। बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीका रुपमा प्रोजेक्ट गर्न रवि लामिछानेले प्रस्ताव गरिसकेका छैनन्। तर बालेन भने संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित होस् भन्ने चाहान्छन् । दुईबीच आज हुने छलफलले मिलेर अघि जाने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने टुङ्गो हुने निकटहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्