Skip to content

न्युयोर्कको संघीय अदालतमा आज निकोलस मादुरोलाई उपस्थित गराइदै, अमेरिकी आपराधिक मुद्दा औपचारिक रूपमा सुरु

न्युयोर्क — भेनेजुएलाबाट नियन्त्रणमा लिइएका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ । यससँगै अमेरिकामा मादुरोविरुद्ध दर्ता गरिएको आपराधिक मुद्दाको अदालती प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ । मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक अमेरिकी न्यायाधीशसामु पेस गर्न लागिएको हो । अमेरिकी समय अनुसार दिउँसो १२ बजे सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लगाइएका आरोपहरू औपचारिक रूपमा पढेर सुनाउनेछन् । सतहमा सामान्य प्रक्रियागत उपस्थितिजस्तो देखिए पनि यसले वर्षौँसम्म लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ ।

अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागुऔषध तस्करीसँग सम्बन्धित आरोपमा अनुसन्धान गर्दै आएको छ, जसमा पछिल्ला ६ वर्षदेखि मादुरोलाई मुख्य प्रतिवादीका रूपमा राखिएको छ । मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के. हेलरस्टिनको इजलासमा हुनेछ। हेलरस्टिनले एक दशकभन्दा लामो समयदेखि यसै प्रकरणसँग सम्बन्धित मुद्दाहरू हेरिरहेका छन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल रहेको बताइएको छ। उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म कडा सुरक्षा व्यवस्थाबीच ल्याइनेछ । एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अन्य अभियुक्तसरह नै मौलिक कानुनी अधिकार पाउनेछन् । यसमा मौन बस्ने अधिकार तथा आगामी सुनुवाइहरूमा गवाही दिने वा नदिने भन्ने निर्णय गर्ने स्वतन्त्रता समावेश छ। तर, मादुरो र उनकी श्रीमतीले अमेरिकी अदालती प्रक्रियामा कत्तिको सहयोग गर्छन् वा मौन बस्छन् भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन । बिल क्लिन्टनको कार्यकालमा नियुक्त भएका अनुभवी न्यायाधीश हेलरस्टिनले यसअघि पनि धेरै ‘हाइ–प्रोफाइल’ मुद्दाहरूको सुनुवाइ गरिसकेका छन् । त्यसैले यो सुनुवाइलाई कानुनी मात्र होइन, भूराजनीतिक दृष्टिले पनि विश्वभर चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्