Skip to content

नेकपाले राष्ट्रिय सभा निर्वाचनमा ४ सिट माग गर्दै दबाब बढायो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल भएमा आफूले ४ सिट पाउनुपर्ने दाबी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी परामर्श बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्तावमा छलफल भइरहेको जानकारी दिएका छन् । नेकपाका एक नेताका अनुसार सातवटै प्रदेशको मतभार एकीकृत गर्दा नेपाली कांग्रेसको २१ हजारभन्दा बढी, नेकपा एमालेको १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी मतभार रहेको छ । यही मतभारका आधारमा १८ सिट बाँडफाँड गर्दा कांग्रेसको भागमा ८, एमालेको ६ र नेकपाको भागमा ४ सिट पर्ने उनको भनाइ छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल तेस्रो स्थानमा रहेकाले कांग्रेसले ८ बाट झरेर ७ सिटमा सीमित हुँदै एक सिट जसपालाई दिनुपर्ने प्रस्ताव नेकपाले अघि सारेको छ । नेकपाका एक नेताले भने, “पछि राष्ट्रपतिबाट एक सिट मनोनीत हुँदा कांग्रेसले लिए हुन्छ । अहिलेका लागि कांग्रेसका ७, एमालेका ६, हाम्रो ४ र जसपाको १ सिटमा उम्मेदवार हुने गरी सहमतिको प्रयास भइरहेको छ ।” ती नेताका अनुसार ४ सिट नपाए पार्टीभित्र नै सहमति कायम गर्न कठिन हुने भएकाले आवश्यकता परे गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने विकल्पसमेत बलियो रूपमा छलफलमा छ। सातवटै प्रदेशका लागि उम्मेदवारहरू तयार भइसकेको पनि उनले बताए । राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। उनको स्थानमा सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ सदस्य मनोनीत गर्नेछन् । बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्