विराटनगर – कोशी प्रदेश सरकारका १० जना नयाँ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेपछि प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहबीच मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद् अनुसार नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार मन्त्रीमा प्रदीपकुमार सुनुवार, पर्यटन मन्त्रीमा भीम पराजुली, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु, उद्योग मन्त्रीमा इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएका छन् । यस्तै नेकपा एमालेबाट खानेपानी मन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिला मन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिला मन्त्रीमा विदुरकुमार लिंथेप तथा सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतोले शपथ लिएका छन् । आन्तरिक मामिला राज्यमन्त्रीका रूपमा उमाकान्त गौतमले पनि पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनसँगै कोशी प्रदेश सरकारको कार्यक्षमता र सेवा प्रवाह थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्