Skip to content

प्रविधि र रोजगारीमुखी शिक्षा आवश्यक : मुख्यमन्त्री बानियाँ

काठमाडौ – बामगती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शिक्षामा प्राविधिक, प्रविधिमैत्री र रोजगारीमुखी शिक्षा आजको प्रमुख आवश्यकता भएको बताएका छन्। शिक्षालाई आयमूलक बनाउँदै आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा उनले जोड दिए । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले माध्यमिक विद्यालयहरूलाई क्रमशः प्राविधिक शिक्षालयका रूपमा विकास गर्दै लैजानुपर्ने धारणा राखे । “अबको शिक्षा प्रविधि र आयसँग जोडिनुपर्छ । बेरोजगार उत्पादन गर्ने शिक्षा अब आवश्यक छैन,” उनले भने, “भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा पनि अपरिहार्य छ। पढ्दै कमाउँदै गर्न सक्ने शिक्षा दिन प्रदेश सरकारले ध्यान दिनेछ।” उनले शिक्षालाई आधुनिकीकरण गर्दै कृत्रिम बौद्धिकता (एआई) सँग जोडेर सक्षम र प्रतिस्पर्धी नागरिक उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए । मुख्यमन्त्री बानियाँले मनहरी–२ नम्बर वडाको विकासका लागि आवश्यक पूर्वाधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए । सो वडास्थित भिमान क्षेत्रमा २२ परिवार अत्यन्त विकट अवस्थामा बसोबास गरिरहेको उल्लेख गर्दै सुरक्षित र सुविधायुक्त स्थानमा बस्ती स्थानान्तरणका लागि प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा अध्ययन गर्ने बताए ।

त्यस्तै मनहरी–२ र ३ जोड्ने खोलामा बेलिब्रिजको आवश्यकता रहेको स्थानीय गुनासोप्रति ध्यान दिँदै उनले पुल निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । गणतान्त्रिक व्यवस्था भनेको गरिबलाई गरिखाने बनाउने व्यवस्था भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले जनमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी र गाउँमुखी काम गर्न आफू प्रतिबद्ध रहेको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार थिङको अध्यक्षतामा सम्पन्न स्वर्ण महोत्सव उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, वडा नं. २ का अध्यक्ष राजकुमार पाख्रिन, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, ३ नम्बर वडाध्यक्ष अनन्तप्रकाश अर्याल, १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल, शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, विद्यालय निरीक्षक विदुर थापा, समाजसेवी तथा शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा विद्यालयका संस्थापक अध्यक्ष बौद्धजीत गोङ्बालाई सम्मान गरिएको थियो भने पहिलो चेपाङ गायक रविन चेपाङ र कलाकार इमान लामाले सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए। तीन दिनसम्म सञ्चालन हुने स्वर्ण महोत्सवमा विविध शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्