काठमाडौँ – केन्द्रीय दुग्ध सहकारी संघको ३१औँ साधारणसभा कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले किसानको एक लिटर दूधसमेत खेर नजाने गरी काम गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दुग्ध क्षेत्रको विकासका लागि केवल कुरामा सीमित नभई व्यवहारमै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। “सँगै काम गरौँ, कुरामात्र होइन, हाते मालो गरौँ,” भन्दै उनले प्रदेश सरकार सहकारीसँग सहकार्य गर्न सधैँ तयार रहने प्रतिबद्धता जनाए । मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वमा छ वटा संकल्प रहेको उल्लेख गर्दै गाउँमुखी, आयमुखी, गरिबमुखी, न्यायमुखी, विकासमुखी र जनमुखी काम गर्न सरकार आएको बताए। केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध क्षेत्रको विकासका लागि ठोस योजना ल्याएमा प्रदेश सरकारले पूर्ण साथ दिने उनले स्पष्ट पारे । संघीय संरचना कार्यान्वयनमा आइसकेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले केन्द्रीय दुग्ध सहकारी संघलाई पनि संघीयता अनुरूप व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बताए। साथै, यो साधारणसभाले सातै प्रदेशमा दुग्ध सहकारी क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।






प्रतिक्रिया दिनुहोस्