काठमाडौँ – संस्थागत विद्यालयहरूको मञ्च (फिजम) द्वारा आयोजित अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अर्किड प्युपल सेकेन्डरी स्कुुलले उत्कृष्ट कोरियोग्राफरको उपाधि जित्न सफल भएको छ । शक्रबार उपत्यकामा आयोजित कार्यक्रममा अर्किडले उत्कृष्ट कोरियोग्राफरको उपाधि जितेको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै विद्यालयको गौरव बढाउन सफल सम्पूर्ण विद्यार्थीलाई विद्यालय परिवारले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उचाइ हासिल गर्न उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।
यस अवसरमा विद्यालयका निर्देशक तथा संचालक प्रेमकुमार भुजेलले प्रतियोगिताले विद्यार्थीमा निहित प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भने, “विद्यालय तहमा यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमले लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान पुर्याउँछ । हाम्रा विद्यार्थीले अनुशासन, मेहनत र सिर्जनशीलताका साथ उत्कृष्ट प्रदर्शन गर्नुभएकोमा हामी अत्यन्त गर्व महसुस गरिरहेका छौं ।” उनले प्रतियोगिता आयोजना गरी विद्यालयस्तरमै लोकसंस्कृतिको उन्नयन तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न भूमिका खेलेकोमा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरे । त्यसैगरी, प्रतियोगितामा विद्यार्थीलाई उत्कृष्ट मार्गदर्शन प्रदान गरी यो उपलब्धि हासिल गर्न सफल बनाउने विद्यालयका नृत्य शिक्षकद्वय विन्द्रकुमार राई र कौशिका खड्कालाई विशेष धन्यवाद ज्ञापन गरिएको छ । विद्यालय परिवारले यस्ता सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिइने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।






प्रतिक्रिया दिनुहोस्