Skip to content

एनेस्थेसियासहितका उपकरण खरिद गर्न काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न सहयोग गर्ने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत आज कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा यस सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गर्नुभयो । महानगरपालिकाको चालु आ. व. को स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो । यसका लागि १ करोड रुपियाँ विनियोजन भएको छ ।

सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने १ थान एनेस्थेसिया मेसिन, २५० केभीएको १ थान जेनेरेटर र ५ सय एम.ए. को १ थान डिजिटल एक्स रे मेसिन खरिद गर्नेछ । खरिद गरिएका उपकरण जडान भएपछि महानगरपालिकाको प्राविधिक टोलीले अनुगमन गर्नेछ । अनुगमन टोलीको प्रतिवेदनपछि प्राप्त बिलबमोजिमको रकम महानगरपालिकाले भुक्तानी गर्नेछ । यो काम आउँदो वर्ष (२०८३ जेष्ठ मसान्त) भित्र सम्पन्न गरिसक्नु पर्नेछ । काठमाडौँ महानगरबासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने विरामीहरुलाई गुणस्तरीय सहज र सरल उपचार सेवा प्रदान गर्न महानगरपालिकाले सहयोग प्रदान गरेको हो । सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले, जलनसहितको उपचार प्रदान गरिने अस्पतालको सेवालाई गुणस्तरीय र सहज बनाउने उद्देश्यले अनुदान प्रदान गरिएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाको वडा नं. १४ सँग जोडिएको कीर्तिपुर अस्पतालबाट महानगरबासीले पनि सेवा लिइरहनुभएको छ । यो पालिका–पालिका र पालिका –अस्पताल सम्बन्धको नमूना पनि हो ।’ उहाँले बताउनुभयो । त्यस क्रममा शिक्षा स्वास्थ्य समितिका संयोजक महर्जनले, महानगरपालिका आफूले प्रदान गर्नु पर्ने तर अहिलेसम्म नगरिएका सेवाका लागि जसले काम गरिरहनुभएको छ । उहाँहरुको सहकार्यमा सञ्चालन गरिरहेको बताउनुभयो । जलन जस्तो संवेदनशील उपचारका लागि हामीले सेवा भावले सहयोग गरेका हौँ । उहाँको भनाइ छ ।

अस्पताल नाफा कमाएर बाँड्ने नभइ सेवा भावबाट सञ्चालन भएको उल्लेख गर्दै अस्पतालका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘जलनका विरामीको उपचार कठिन हुन्छ । यसलाई सहज बनाउने महानगरपालिकाबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्