वीरगञ्ज (पर्सा) – नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबारका क्रममा चेक बाउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने प्रावधानबारे राष्ट्र बैंकले गम्भीर अध्ययन गरिरहेको बताउनुभएको छ। आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कालोसूचीमा राख्ने व्यवस्थालाई पुनरावलोकन गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो। “चेक बाउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौँ।”
गर्भनर पौडेलका अनुसार चेक बाउन्स हुने तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसक्ने धेरै व्यक्ति कालोसूचीमा पर्ने गरेको देखिएको छ। त्यसैले कति अवस्थामा कालोसूचीमा राख्ने र कति अवस्थामा नराख्ने भन्ने विषयमा विस्तृत अध्ययन भइरहेको उहाँले स्पष्ट पार्नुभयो। “कालोसूचीमा राख्नुपर्ने कति हुन् र नराख्नुपर्ने कति हुन् भन्ने विषयमा हामीले हेरिरहेका छौँ। यसको बारेमा मैले विस्तृत रूपमा अध्ययन गरिरहेको छु,” उहाँले भन्नुभयो। गर्भनर पौडेलले अत्यधिक कडाइ गरेर मात्रै व्यापार–व्यवसाय सञ्चालन हुन नसक्ने पनि उल्लेख गर्नुभयो।
“व्यवसाय भनेको कलेज पढेर मात्रै चल्ने कुरा होइन। विभिन्न अनुभव, हन्डर र ठक्कर खाएपछि मात्रै व्यवसाय व्यवस्थित रूपमा अघि बढ्छ,” उहाँले भन्नुभयो। उहाँले व्यवसायीलाई दोष लगाएर मात्र मुलुकको विकास सम्भव नहुने भन्दै व्यवसायीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। “व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास हुँदैन। त्यसैले व्यवसायीलाई प्रवर्द्धन गरेर अघि बढाउन जरुरी छ,” उहाँले थप्नुभयो। उहाँले व्यवसाय गर्न खोज्ने व्यक्तिले एकपटक गल्ती गरेकै कारण अत्यधिक दुःख दिन नहुने पनि बताउनुभयो।
फरक प्रसङ्गमा गर्भनर पौडेलले सूचना प्रविधिमा आधारित उद्योगलाई राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको बताउनुभयो। डिजिटल प्रविधिमा आधारित उद्योग भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले यसलाई प्रोत्साहन गर्ने नीति अपनाइएको उहाँको भनाइ थियो। “भविष्यमा सूचना प्रविधि उद्योग धेरै वृद्धि हुन्छ भन्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो, “हामीले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्न अनुरोध गर्दै आइरहेका छौँ।” उहाँले विगतमा वीरगञ्जमा फोटो स्टुडियो, वर्कसप र ग्यारेज सेन्टरजस्ता व्यवसाय पर्याप्त रहे पनि अहिले ती क्रमशः घट्दै गएको बताउनुभयो।
“अहिले धेरैजसो व्यवसाय डिजिटल प्लेटफर्ममा अघि बढिरहेका छन्। त्यसैले उद्यमी तथा व्यवसायीले समयअनुसार आफ्नो व्यवसायलाई नयाँ ढङ्गले रूपान्तरण गर्दै लैजान आवश्यक भइसकेको छ,” उहाँले भन्नुभयो। गर्भनर पौडेलले नेपाली आईटी कम्पनीहरूलाई विदेशी मुलुकमा लगानी गर्न सहज वातावरण बनाउनेतर्फ पनि राष्ट्र बैंकले पहल गरिरहेको दाबी गर्नुभयो।





प्रतिक्रिया दिनुहोस्