काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव रहेको बताउनुभएको छ।
शनिबार काठमाडौँमा आयोजित गैरआवासीय नेपाली सङ्घको १२ औँ एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले देश बनाउने दृढ सङ्कल्प भए छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताउनुभयो। नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको उहाँको भनाइ थियो।
डा. महतोले आगामी १० वर्षभित्र नेपाललाई १०० बिलियन (एक खर्ब) डलरको अर्थतन्त्रमा पुर्याउन सकिने दाबी गर्नुभयो। नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्न सके अर्थतन्त्र अहिले नै करिब १०० बिलियन डलर पुग्न लागेको उहाँले बताउनुभयो।
हाल करिब ८० लाख नेपाली विदेशमा रहेको र उनीहरूबाट वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स (विप्रेषण) नेपाल भित्रिने गरेको जानकारी दिँदै उहाँले नेपालभित्रको अर्थतन्त्रसँग विदेशमा रहेका नेपालीहरूको आर्थिक गतिविधि पनि जोडिएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीसँग पनि जोडिएको छ। हामीले सङ्कल्प गर्ने हो भने १० वर्षमा १०० बिलियनको अर्थतन्त्र बनाउन असम्भव छैन।”
महतोले सरकारसँग गुनासो मात्र गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भूमिका खेल्न गैरआवासीय नेपालीलाई आह्वान गर्नुभयो। विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
स्वदेशी र गैरआवासीय नेपालीको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा भित्रिन नसक्ने उहाँले स्पष्ट पार्नुभयो।
नेपालको निजी क्षेत्रले पछिल्लो समय गैरआवासीय नेपालीलाई बेवास्ता गरेको भन्दै उहाँले गुनासो व्यक्त गर्नुभयो। केही व्यक्तिको मतभेदका आधारमा संस्थालाई नै भेदभाव नगर्न आग्रह गर्दै निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम गरे मात्र देशले छिटो आर्थिक प्रगति गर्न सक्ने उहाँले बताउनुभयो।
विदेशमा बसेर सुझाव मात्र दिनुभन्दा नेपालमै आएर योगदान गर्न उहाँले सबै गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो।





प्रतिक्रिया दिनुहोस्