कैलाली – कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालयबाट पक्राउ गरिएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप सार्वजनिक रूपमा लगाएपछि उहाँविरुद्ध उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएपछि पक्राउ गरिएको हो ।
भट्टलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाउनुभएको थियो । उक्त अभिव्यक्तिपछि उद्योग मन्त्रालयले भट्टसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्