Skip to content

इन्धन अभावका कारण श्रीलङ्कामा सरकारी कर्मचारीलाई बुधबार बिदा

कोलम्बो – श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी कर्मचारीहरूको कार्यतालिकामा परिवर्तन गरेको छ । मङ्गलबार जारी सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने निर्णय लागू गरिने भएको छ ।

आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीका अनुसार सरकारी विद्यालय, विश्वविद्यालय तथा अदालतहरू पनि बुधबार बन्द रहनेछन् । यद्यपि स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवाहरूमा भने यो व्यवस्था लागू हुने छैन ।

सरकारी कार्यालयका प्रमुखहरूलाई आवश्यकताअनुसार बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा खटाउन सक्ने अधिकार दिइएको छ । इन्धन सङ्कटलाई मध्यनजर गर्दै सरकारले अर्को सूचना नभएसम्म सबै सरकारी कार्यक्रमहरू स्थगित गरेको जनाएको छ । साथै निजी क्षेत्रलाई पनि सम्भव भएसम्म यस्तै व्यवस्था अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्