Skip to content

भुटानमा भीषण बाढी, हिमताल विस्फोटको आशंका, सडक र जलविद्युत् संरचनामा क्षति

काठमाडौं – भुटानमा गएराति एक्कासि आएको भीषण बाढीपछि हिमताल विस्फोट (जीएलओएफ) भएको आशंका गरिएको छ। बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा प्रभावित बनाएको छ भने विभिन्न सडक, सिँचाइ प्रणाली तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्‍याएको छ। बाढीसँगै बगेर आएको ढुंगा, माटो र गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ ।

त्यस्तै, लाया गेओगअन्तर्गत टोङचुद्राक सडकखण्डको केही भागसमेत बाढीले बगाएपछि लाया क्षेत्र देशका अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)ले जनाएको छ । बाढीबाट अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। रातिको समयमा बाढी आएकाले तत्काल क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन्। सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था र नदीको जलस्तर निरन्तर निगरानी गरिरहेका छन् ।

सिन्ताफु हिमताल विस्फोट भएको आशंका

बाढीको मुख्य कारण गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ। भुटानको लाया गेओगस्थित लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा रहेको सिन्ताफु हिमताल देशका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । यो हिमताल मो छू नदीको मुहान क्षेत्रमा पर्दछ। बाढी पनि यही नदीमा आएको र तालबाट पानी बाहिरिएको जस्तो देखिने केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिमताल विस्फोटको आशंका गरिएको हो। यद्यपि, हिमताल विस्फोट भएको आधिकारिक पुष्टि भने भइसकेको छैन।

जोखिम क्षेत्रका बासिन्दा र कर्मचारी सुरक्षित स्थानमा सारिए

सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सैनिक, कर्मचारी तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। ताक्त्सिमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी र गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। गासा छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी तथा आगन्तुकलाई पनि सुरक्षित स्थानमा सारिएको छ। पुनाखाको येबिसा क्षेत्रमा समेत बाढीको पानी पुगेको छ। पुनाखा सेन्ट्रल स्कुलले आफ्ना सबै आवासीय विद्यार्थीलाई सुरक्षित रूपमा अग्लो स्थानमा सारिएको पुष्टि गरेको छ।

नदीको जलस्तर निगरानी, साइरन प्रणाली सक्रिय

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्र (एनसीएचएम)ले मो छू नदीको तासिथाङ र येबिसा क्षेत्रमा पानीको सतह निरन्तर निगरानी गरिरहेको जनाएको छ। मो छू र पुनात्साङछु नदीका तल्लो तटीय क्षेत्रमा जडान गरिएका पूर्वसूचना साइरन प्रणाली सक्रिय पारिएको छ। सम्भावित जोखिममा रहेका आसपासका जिल्लालाई समेत सतर्क गराइएको छ। बाढीसँगै ढुंगा, माटो तथा अन्य गेग्रान बगेर आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले आफ्ना विद्युत् उत्पादन गर्ने युनिट बन्द गरेको छ।

आयोजनाले बाँधका ढोका खोलेर जलाशयको पानीको सतहसमेत घटाएको छ। बाढीको पानी र त्यससँगै बगेर आउने गेग्रानलाई सहज रूपमा निकास दिन यस्तो सावधानी अपनाइएको हो। हिमताल विस्फोट भएको हो वा अन्य कारणले बाढी आएको हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ। बाढीको वास्तविक परिमाण र भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण पनि सार्वजनिक हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्