Skip to content

लेकम गाउँपालिकाले चालकलाई स्पष्टीकरण सोध्यो, जनप्रतिनिधिमाथि जिम्मेवारी पन्छ्याएको आरोप

दार्चुला – लेकम गाउँपालिकाको सवारी साधन दुरुपयोग भएको भन्ने विषयले विवाद सिर्जना गरेको छ । गाउँपालिकाले आफ्नो गाडीमा राजनीतिक कार्यकर्ता बोकेको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ भने घटनाबारे स्पष्टीकरण पनि दिएको छ । प्रमुख प्रशासकीय अधिकृत दिपकराज जोशीद्वारा जारी विज्ञप्तिमा विभिन्न मिडिया र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति प्रतिक्रिया जनाउँदै प्रारम्भिक बुझाइअनुसार सवारी साधनमा कुनै राजनीतिक कार्यकर्ता नबोकेको दाबी गरिएको छ । गाउँपालिकाका अनुसार चैत २ गते सु.प.प्र. ०१–००१ झ ५२७ नम्बरको गाडी परीक्षा अनुगमनपछि औषधी ढुवानीका लागि रिठाचौपाता स्वास्थ्य चौकी पुगेको थियो । फर्कने क्रममा स्थानीयको अनुरोधमा केही सर्वसाधारणलाई मात्र गाडीमा राखिएको उल्लेख गरिएको छ ।

यद्यपि घटनालाई लिएर आलोचना बढेपछि गाउँपालिकाले सवारी चालकसँग तीन दिनभित्र लिखित स्पष्टीकरण मागेको छ । यसैबीच, जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पन्छ्याएर चालकलाई मात्र दोषी देखाउन खोजेको आरोप स्थानीयहरुले लगाएका छन् । सरकारी सवारी साधन सरकारी कामका लागि मात्र प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै यस्तो विवाद सिर्जना हुनुले स्थानीय तहको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्