काठमाडौं – काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा रिहा गरेको छ । परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक कागजात बुझिसकेपछि उनलाई खोजेका बखतमा उपस्थित हुने शर्तमा छाडिएको हो । रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सुविधानगरस्थित निवासबाट पक्राउ गरेको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले रिजालमाथि कारबाही गर्न सिफारिस गरेको थियो । आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको हो। उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्र बाहेकका व्यक्तिहरूमाथि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही प्रकरणमा शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो । सुरुमा जिल्ला सुरक्षा समितिको अध्यक्षसमेत हुने भएकाले तत्कालीन सीडीओलाई पक्राउ नगरिने बताइएको थियो । तर मंगलबार बिहान एकाएक पक्राउ गरिएका रिजाल सोही दिन साँझ जिम्मा जमानीमा रिहा भएका हुन् ।
मन्त्रिपरिषद् निर्णयकै कारण रिहा गरिएको हो कि होइन भन्ने प्रश्नमा एसपी भट्टराईले निर्णयमा विभिन्न पक्षबारे थप बुझ्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने उल्लेख रहेको बताए । “अहिले उहाँ छुट्नुभयो, बाँकी विषयमा बुझ्दै अगाडि बढ्छौं,” उनले भने ।





प्रतिक्रिया दिनुहोस्