Skip to content

एसईई आजदेखि : सवा ५ लाख विद्यार्थी सहभागी हुँदै, एक महिनामै नतिजा

काठमाडौँ – नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।

यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

एक महिनामै नतिजा ल्याउने नयाँ कार्ययोजना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेलगत्तै शिक्षा क्षेत्रमा सुधार गर्ने दाबी सहित निर्णयहरु गरिरहेका छन् । मन्त्रालयका एक सहसचिवका अनुसार उनले एसईईको नतिजा ढिला हुँदा विद्यार्थीहरूको शैक्षिक क्यालेन्डर बिग्रिएको र उनीहरूमा मानसिक तनाव बढेको भन्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोही निर्देशनलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षणको परम्परागत शैलीमा परिवर्तन गरेको छ । विगतका वर्षहरूमा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने र गोप्य केन्द्रहरू तोकेर परीक्षण गर्ने प्रचलन थियो । यसले गर्दा ओसारपसार र समन्वयमा धेरै समय खर्च हुने गर्थ्यो । तर यस वर्ष बोर्डले जुन परीक्षा केन्द्रमा परीक्षा भएको हो । सोही क्षेत्रका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ ।

एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजालाई छिटोभन्दा छिटो सार्वजनिक गर्ने प्राथमिकता रहेको छ । उनले मन्त्रालयको निर्देशन र विद्यार्थीको हितलाई ध्यानमा राख्दै हामीले यस पटक सम्बन्धित जिल्ला वा क्षेत्रकै परीक्षा केन्द्रलाई आधार मानेर परीक्षण केन्द्र कायम गर्ने निर्णय गरेको बताए । यसले गर्दा उत्तरपुस्तिका ओसारपसारमा लाग्ने समय बचत हुने र स्थानीय शिक्षकहरूको प्रत्यक्ष संलग्नतामा काम छिटो सकिने बोर्डले अपेक्षा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्