हेटौंडा — इन्द्रबहादुर बानियाँ को प्रमुख आतिथ्यतामा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारण सभा हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले समयअनुसार व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले व्यापारीहरूले नाफा–नोक्सानप्रति इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्ने धारणा राखे ।
उनले हेटौंडामा सडक विस्तारसम्बन्धी ‘२५ मिटर कि २२ गज’ भन्ने अन्योल अझै कायम रहेको उल्लेख गर्दै त्यसका कारण धेरै घर भत्किएको र पसल विस्थापित भएको बताए। यसले स्थानीय स्तरमा व्यवस्थापनमा समस्या उत्पन्न गरेको उनको भनाइ थियो । मुख्यमन्त्री बानियाँले औद्योगिक क्षेत्र प्रदेश सरकारको अधिकार क्षेत्रभित्र नपर्ने स्पष्ट पार्दै नेपाल राष्ट्र बैंक केन्द्रीय सरकारअन्तर्गत पर्ने भएकाले आवश्यक समन्वयमार्फत समस्या समाधानका लागि पहल गरिने बताए । सडक विस्तारबाट प्रभावित घरधनी तथा व्यापारीप्रति प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले नयाँ सरकार सहकार्यका लागि तयार रहेको बताए । साथै, प्रभावित व्यापारीहरूको घर निर्माण र सडक सुविधा सुनिश्चित नभएसम्म बैंक ब्याज मिनाहा गर्न संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए । विज्ञापनसम्बन्धी नीतिबारे बोल्दै मुख्यमन्त्री बानियाँले तीनै तहका सरकारले स्पष्ट र व्यवहारिक नीति बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले केन्द्र सरकारले सरकारी विज्ञापन वितरणसम्बन्धी जारी गरेको परिपत्रप्रति टिप्पणी गर्दै, सरकारी सञ्चारमाध्यमबाहेक अन्य मिडियामा विज्ञापन प्रवाहमा गरिएको सीमाबारे पुनर्विचार आवश्यक रहेको बताए । “यदि त्यो अधिकार बागमती प्रदेशलाई दिइयो भने आवश्यक समायोजन गर्न म तयार छु,” उनले भने ।





प्रतिक्रिया दिनुहोस्