Skip to content

धरमघरलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न फ्याम ट्रिप सम्पन्न

दार्चुला – अपिहिमाल गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले धरमघर क्षेत्रमा फ्याम ट्रिप कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको केन्द्र खण्डेश्वरीबाट सबैभन्दा नजिकको घुम्न मिल्ने गन्तव्यका रूपमा धरमघर क्षेत्रलाई विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाका अनुसार धरमघर क्षेत्र अपिहिमालबाट एक वा दुई दिनमै पुगेर अवलोकन गर्न सकिने सहज गन्तव्य हो। यहाँ धार्मिक पर्यटनका लागि प्रसिद्ध तामाखानी भवानी मन्दिर रहेको छ, जुन समुद्री सतहबाट ३ हजार ३ सय ५० मिटर उचाइमा अवस्थित छ।

यसैगरी ३ हजार ३ सय ४० मिटर उचाइमा रहेको तामाखानी भ्यू प्वाइन्टबाट अपि हिमाल, नाम्पा हिमाल, जेठी बहुरानी, कपिल हिमाललगायतका मनोरम हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । धरमघर क्षेत्रभित्र पर्ने सुपैते पाटन, धरमघर पाटन, मकारचुली, धुल्लेख पाटन, रानीसैन पाटन तथा मुना पाटन प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलका रूपमा परिचित छन्। धुल्लेख पाटनबाट भारतको पञ्चाचुली हिमाल श्रृंखला तथा अपि हिमश्रृंखलाका हिमाल नजिकैबाट अवलोकन गर्न सकिन्छ । घुम्न आउने पर्यटकका लागि भेडीगोठमार्फत खानबस्नको सुविधा उपलब्ध रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरेले अपिहिमाललाई प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने बताउँदै यसबाट स्थानीय आयआर्जन वृद्धि हुनुका साथै रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्