काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय समितिमा भएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता कोइरलाले कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका सदस्यताकै आधारमा १५ औं महाधिवेशन हुनुपर्ने बताएका छन् । एकताको मुख्य आधार पद वितरण नभई नवीकरण भइसकेका क्रियाशील सदस्यहरुको सम्मान रहेको उनले बताएका छन् ।
डा.कोइरालाले पार्टीको समग्र एकता नहुँदासम्म कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने बताउँदै पद र व्यक्तिको कुरा गौण रहेको बताए । पार्टीको निर्णायक भूमिकामा बस्नेहरूले सामूहिक भावना र साझा विचार प्रदर्शन गर्नुपर्ने भन्दै नेता कोइरालाले भावनात्मक एकता बिना कांग्रेसमा आबद्ध सदस्यहरूको भूमिका सुनिश्चित नहुने बताएका छन् । स्थानीय र प्रदेश निर्वाचन निकट रहेको उल्लेख गर्दै कोइरालाले ती निर्वाचनमा पनि नागरिकको भरोसा जित्न नसके कांग्रेसको राजनीतिक औचित्यमाथि प्रश्न उठ्ने उल्लेख गरेका छन् । कांग्रेस सभापति गगन थापाले सोमबार १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
उनको भनाइ जस्ताको तस्तै
भर्खरै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार भएको छ । साथीहरुमा यसवाट स्वभाविक रुपमा मेरो भूमिका के कस्तो रह्यो र मैले कसरी यसलाई लिएको छु भन्ने जिज्ञाशा होला ।
१. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभै हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं । विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौंण हुन जान्छ । कांग्रेसको इतिहास र परम्परा यही हो ।
२. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ ।
३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ । यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठने खतरा म देख्दैछु ।
४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ ।
५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।
अन्त्यमा, हिजो बैशाख– २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नविकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औं महाधिवेशन (एकता महाधिवेशनका रुपमा) सम्पन्न गरिनुपर्छ । कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ ।





प्रतिक्रिया दिनुहोस्