काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बुधबारकाे बैठकमा बोल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले २८ वैशाखमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । गत सोमबार राष्ट्रपति पौडेलले संसदकाे संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्