काठमाडौँ – सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले जानकारी दिइन् । समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले वैशाख ९ मा राजीनामा बुझाएका थिए । गुरुङ २६ दिनमात्रै गृहको नेतृत्वमा रहेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा प्रश्न उठेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर किनेको दाबी गर्दै आएका छन् । उनले भट्टको कम्पनीमा ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ।





प्रतिक्रिया दिनुहोस्