काठमाडौं – सरकारले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै विद्युतीय चुल्होको प्रयोग विस्तार गर्ने नीति अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको “ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” मा आर्थिक वर्ष २०९२/०९३ सम्म एलपी ग्यासमा दिइँदै आएको अनुदान हटाउने र विद्युतीय चुल्होमा सहुलियत उपलब्ध गराउने योजना उल्लेख गरिएको छ । सरकारले स्वदेशमै उत्पादन भएको विद्युत्को आन्तरिक खपत बढाउने, ग्यास तथा पेट्रोलियम पदार्थको आयात घटाउने र स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने लक्ष्यसहित रणनीति सार्वजनिक गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामै ४१ अर्ब ६५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार हाल प्रत्येक ग्यास सिलिन्डरमा करिब ३३१ रुपैयाँ घाटा भइरहेको छ । ऊर्जा मन्त्रालयले ग्यास आयातमा खर्च भइरहेको ठूलो विदेशी मुद्रा जोगाउन विद्युतीय चुल्होको प्रयोग बढाउने नीति लिएको जनाएको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन विस्तार, ट्रान्सफर्मर क्षमता वृद्धि तथा वितरण प्रणाली आधुनिकीकरणको काम तीव्र पारिएको छ ।
रणनीतिअनुसार देशभर विद्युतीय सवारीसाधनको प्रयोगलाई समेत प्रोत्साहन गरिनेछ । पेट्रोल पम्पहरूमा चार्जिङ स्टेशन विस्तार, प्रमुख शहरहरूमा विद्युतीय बस सञ्चालन तथा ट्रलीबस सेवा विस्तार गर्ने योजना अघि सारिएको छ । त्यस्तै कृषि क्षेत्रमा डिजेलको प्रयोग घटाउन शतप्रतिशत विद्युतीय सिँचाइ पम्पमा रूपान्तरण गर्ने लक्ष्य पनि सरकारले लिएको छ । उद्योग क्षेत्रमा प्रयोग हुने कोइला बोयलरलाई विद्युतीय बोयलर र भट्टीले प्रतिस्थापन गर्ने नीति पनि रणनीतिमा समावेश गरिएको छ । ऊर्जा मन्त्रालयका अनुसार हाल देशको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार २९६ मेगावाट पुगेको छ भने प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट बराबर पुगेको छ । सरकारले आगामी वर्षहरूमा आन्तरिक विद्युत् खपत बढाएर ऊर्जा निर्यातसमेत विस्तार गर्ने लक्ष्य राखेको छ ।





प्रतिक्रिया दिनुहोस्