काठमाडौँ – गगनकुमार थापाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई सम्मानजनक जिम्मेवारी दिन आफू तयार रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि हाल केन्द्रीय समितिबाहिर रहेका नेताहरूलाई पुनः जिम्मेवारीसहित पार्टीको मूलधारमा ल्याउन चाहेको बताए ।उनले आवश्यकताअनुसार वरिष्ठ नेता लगायत विभिन्न पदमा राखेर सबैलाई सहभागी गराउँदै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने प्रस्ताव आफूले अघि सारेको उल्लेख गरे । “केन्द्रीय समितिबाहिर रहेका प्रत्येक नेतालाई सम्मानका साथ जिम्मेवारी दिएर सँगै काम गर्न चाहन्छु,” थापाले भने, “यो मेरो प्रस्ताव हो ।”
सभापति थापाले आगामी महाधिवेशनको निर्वाचन समितिमा पनि कांग्रेस बाहिर रहेका नेताहरूको सहमति र प्रस्तावलाई समेट्न तयार रहेको जानकारी दिए । उनले पार्टीभित्र कुनै पनि निर्णय विशेष महाधिवेशनमा सहभागी भएका आधारमा मात्रै नहुने स्पष्ट पार्दै सबै पक्षलाई समेटेर सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्