काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बस्न लागेको हो । पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको थियो। सोही बैठक आजका लागि पुनः तय गरिएको हो ।
बैठकको मुख्य एजेन्डा ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन रहने एमाले नेताहरूले बताएका छन्। पार्टीका केन्द्रीय सदस्यहरूलाई पालिका तहसम्म जिम्मेवारी दिएर आगामी स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । एक पदाधिकारीका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारी दिइनेछ। यसमार्फत पार्टी संगठनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने र निर्वाचन तयारीलाई तीव्र पार्ने एमालेको योजना रहेको बताइएको छ ।
यसैगरी, पार्टीका केन्द्रीय विभाग तथा विभिन्न निकायहरूमा समेत जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरिएको छ । बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने सम्भावना पनि रहेको नेताहरूले बताएका छन् । बैठकमा सरकारले हटाएका सुकुमबासी बस्ती, उनीहरूको व्यवस्थापन तथा पछिल्ला सरकारी कामकारबाहीले जनतामा पारेको प्रभावबारे पनि छलफल हुने एमाले नेताहरूले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्