काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन् । बुधबार हिमालयन टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा बोल्दै सिंहले संसद्लाई छलेर निर्णय गर्ने, विधिको शासनलाई बेवास्ता गर्ने र ‘पुलिस स्टेट’ हाबी गराउने प्रवृत्ति बढ्दै गएको आरोप लगाए । उनले पाकिस्तानमा जस्तै संसद्लाई कमजोर बनाउने खेल नेपालमा पनि भइरहेको दाबी गरे । व्यवसायीहरूलाई पर्याप्त कानुनी आधारबिना पक्राउ गर्ने र भोलिपल्टै छोड्ने परिपाटीले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको उनको भनाइ छ । ‘विधिको शासन मिचेर व्यापारीहरूलाई थुन्ने काम भइरहेको छ, यसले लगानीकर्तामा डर पैदा गरेको छ,’ सिंहले भने, ‘यही कारण नेपालको अर्बौं रुपैयाँ विदेश पलायन भइसकेको छ ।’
नेपालको राजनीतिक इतिहासमा दुई तिहाइ र बहुमतका सरकार सफल हुन नसकेको उदाहरण दिँदै उनले वर्तमान सरकार पनि पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गरे । सत्ता पक्ष संविधान र लोकतान्त्रिक परम्पराविपरीत अघि बढिरहेको उनको आरोप छ । छिमेकी मुलुकसँगको सम्बन्धबारे टिप्पणी गर्दै उनले केपी शर्मा ओली नेतृत्वको पालाभन्दा अहिले भारत र चीनसँगको भू–राजनीतिक सन्तुलन कमजोर बनेको दाबी गरे । मधेसका समस्याप्रति सरकार असंवेदनशील बनेको आरोप लगाउँदै उनले मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले समेत सीमा क्षेत्रका जनताको पीडा बुझ्न नसकेको बताए । सुकुमवासी बस्ती हटाउने सरकारी कदमको पनि उनले विरोध गरे । उचित विकल्प र व्यवस्थापनबिना संरचना भत्काउनु गलत भएको उनको भनाइ छ । वर्तमान राजनीतिक अन्योल र संवैधानिक संकटका कारण आगामी स्थानीय तह निर्वाचनसम्म अहिलेको संविधान नै कायम रहन्छ कि रहँदैन भन्नेबारे समेत उनले गम्भीर आशंका व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्