Skip to content

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ

महोत्तरी – महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले सडक ढलान योजनाको भुक्तानी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा यादवलाई नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अघि बढाउन विभिन्न बहाना बनाउँदै सेवाग्राहीलाई दुःख हैरानी दिएको तथा घुस/रिसवत मागेको भन्ने सूचना र उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । सोही क्रममा यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउका बेला उनी सवार सरकारी नम्बर प्लेटको सवारी साधनबाट स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ, एउटा ल्यापटप, दुई वटा मोबाइल र अन्य सरकारी कागजातसमेत बरामद गरिएको बताइएको छ । उनीलाई महोत्तरीको गौशाला नगरपालिका–५ निगौलस्थित सम्सी–गौशाला सडक खण्डबाट नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्