काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई लक्षित गर्दै साङ्गठनिक तथा निर्वाचनसम्बन्धी सबै प्रक्रियाको समयसीमा तय गरेको हो । केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ द्वारा जारी परिपत्रअनुसार ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठनलाई प्राथमिकतामा राखिएको छ । कार्यतालिकाअनुसार आगामी जेठ १५ गतेभित्र प्रदेश तथा जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ १० गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र सङ्कलन गरिनेछ । महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने अन्तिम मिति जेठ २५ गते तोकिएको छ भने जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचनसम्बन्धी प्रतिवेदन अनिवार्य रूपमा केन्द्रमा बुझाइसक्नुपर्नेछ । रास्वपाले महाधिवेशनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी समेत अघि बढाएको छ । यससम्बन्धी छलफल तथा प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण पेस गर्ने काम आगामी असार ५ गतेभित्र सम्पन्न गरिने कार्यतालिकामा उल्लेख गरिएको छ । निर्वाचन आयोगले सबै प्रदेश सभापतिहरूलाई मातहतका जिल्ला सभापतिसँग समन्वय गरी केन्द्रले तोकेको समयसीमाभित्र सबै काम सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टीले महाधिवेशन तयारीलाई व्यवस्थित बनाउन महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह साथै संगठन विभाग सचिव शंकर श्रेष्ठ लाई समेत बोधार्थ दिँदै आन्तरिक परिचालनलाई तीव्र बनाएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्