Skip to content

ठमेलमा ‘अश्लील’ हर्कत गर्ने २१ जना विदेशी महिला पक्राउ

काठमाडौं – काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २१ जना विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमै पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई समेत दु:ख हैरानी दिने गरेको सूचनाका आधारमा ठमेलका विभिन्न स्थानमा निगरानी र चेकजाँच गरिएको थियो । सो क्रममा युगान्डा, बंगलादेश, केन्या र भियतनामका महिला नागरिकहरूले बाटो हिँडिरहेका विदेशी तथा नेपाली पुरुषहरूलाई अनावश्यक रूपमा रोकी यौन कार्यका लागि पैसाको बार्गेनिङ गर्दै हैरानी दिइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सम्झाइ-बुझाइ गर्दा समेत अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकामध्ये १६ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ भने बाँकी ५ जनामाथि प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा युगान्डाका ९ जना, भियतनामका ४ जना, बंगलादेशका २ जना, थाइल्यान्डका २ जना र केन्याका ४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्