काठमाडौं – सरकारको लगानी रहेका सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगम सबैभन्दा धेरै नाफा गर्ने संस्थान बनेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा निगमले १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको हो । सार्वजनिक संस्थानहरूको वार्षिक समीक्षा २०८३ अनुसार सञ्चालनमा रहेका ४५ संस्थानमध्ये २७ नाफामा रहेका छन् भने १६ संस्थान घाटामा छन् । दुई संस्थाले भने हालसम्म वित्तीय विवरण सरकारलाई बुझाएका छैनन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २८ संस्थान नाफामा र १५ घाटामा थिए । त्यतिबेला पनि दुई संस्थाले वित्तीय विवरण पेश गरेका थिएनन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का अनुसार आव २०८१/८२ को अन्त्यसम्म सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १३.४४ प्रतिशत बढी हो । आव २०८०/८१ मा यस्तो लगानी ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ थियो । गत आवमा संस्थानहरूमा सरकारको सेयर लगानी १.४८ प्रतिशतले बढेर ३ खर्ब ७० अर्ब २५ करोड १९ लाख पुगेको छ भने ऋण लगानी २६.३२ प्रतिशतले वृद्धि भई ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
समीक्षा अनुसार कुल ऋण लगानीको ८१.७३ प्रतिशत हिस्सा नेपाल विद्युत् प्राधिकरण मा रहेको छ । त्यस्तै, आव २०८१/८२ मा सार्वजनिक संस्थानहरूको कुल सेयरधनी कोष १० खर्ब ७३ अर्ब २८ करोड ३१ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष संस्थानहरूको कुल आय ०.६७ प्रतिशतले वृद्धि भएर ७ खर्ब २१ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ११.८ प्रतिशत बराबर रहेको उल्लेख गरिएको छ । त्यस्तै, कुल सञ्चालन आय ६ खर्ब ६८ अर्ब ३ लाख रुपैयाँबाट बढेर ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख पुगेको छ । सार्वजनिक संस्थानहरूको समग्र खुद नाफा अघिल्लो आवको ४० अर्ब २४ करोड २८ लाख रुपैयाँबाट १२.०३ प्रतिशतले बढेर ४५ अर्ब ८ करोड ४९ लाख पुगेको छ ।
नेपाल आयल निगम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक को नाफामा भएको उल्लेख्य वृद्धिले समग्र संस्थानहरूको नाफा वृद्धि गर्न सहयोग पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । नाफामा सञ्चालन भएका संस्थानहरूको खुद नाफा १०.५८ प्रतिशतले बढेर ४८ अर्ब ८९ करोड ६ लाख पुगेको छ । यता घाटामा रहेका संस्थानहरूको खुद नोक्सान ४.१४ प्रतिशतले घटेर ३ अर्ब ८० करोड ५७ लाखमा सीमित भएको छ । संस्थानहरूको सञ्चित नाफा २१.५१ प्रतिशतले बढेको छ भने सञ्चित नोक्सानमा रहेका संस्थानहरूको कुल सञ्चित घाटा ७.५३ प्रतिशतले वृद्धि भएर ५१ अर्ब ८६ करोड ७८ लाख पुगेको छ । सञ्चित नोक्सानमा सबैभन्दा ठूलो हिस्सा नेपाल वायुसेवा निगम को रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सार्वजनिक संस्थानहरूको कुल सञ्चालन खर्च ०.६८ प्रतिशतले घटेको छ भने प्रशासनिक खर्च ८.११ प्रतिशतले कमी भई ६२ अर्ब ९३ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । आव २०८१/८२ मा जनकपुर चुरोट कारखाना लिमिटेड बन्द भए पनि भवन तथा जग्गा भाडाबाट आय भएको देखिएको छ । घाटामा रहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड र बुटवल धागो कारखाना लिमिटेड बन्द अवस्थामा रहेका छन् । त्यस्तै धौवादी फलाम कम्पनी लिमिटेड ले अझै व्यावसायिक कारोबार सुरु गरेको छैन । कारोबार नभए पनि नियमित प्रशासनिक खर्च भइरहेकाले ती संस्थान घाटामा देखिएका हुन् । समीक्षा अनुसार २०८१ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज मा सूचीकृत ४ सय ६६ कम्पनीमध्ये ७ सार्वजनिक संस्थानको कुल बजार पूँजीकरण ६६.३५ प्रतिशतले बढेको छ । यद्यपि, समीक्षा अवधिमा १६ संस्थानले नियमित अन्तिम लेखा परीक्षण नगरेकाले ती संस्थानहरूको वास्तविक वित्तीय अवस्था मूल्यांकन गर्न कठिन भएको अर्थ मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्